राजनीति

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडाैं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्मा विश्वासको मत लिने भएका छन्। राष्ट्रपतिबाट फागुन ३ मा प्रधानमन्त्री नियुक्त ओलीलाई राजपा र फोरमले पनि मत दिने तयारी गरेका छन्।
वाम गठबन्धनका प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। ज्येष्ठ सदस्यको हैसियतमा सभामुख बनेका महन्थ ठाकुरले शनिबार बसेको संसद् बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरेका हुन्। ठाकुरले आइतबार ३ बजे प्रधानमन्त्रीले विश्वासको मत लिने समय निर्धारण गरिएको जानकारी संसद्मा गराए।
राष्ट्रपतिबाट नियुक्त भएको एक महिनाभित्र प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ओली प्रधानमन्त्री बनेको चैत ३ मा एक महिना पुग्दै छ। यस्तै, संसद्को शनिबार बसेको बैठकले सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सर्वसम्मत निर्वाचित गरेको छ। प्रमुख विपक्षी कांग्रेससमेतको समर्थनमा महरा निर्विरोध निर्वाचित भएका हुन्।
सभामुख पदका लागि महराको एक मात्र उम्मेदवारी परेको भन्दै ज्येष्ठ सदस्य ठाकुरले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरे। वाम गठबन्धनका तर्फबाट महरालाई सभामुखका रूपमा अघि सारिएको थियो। त्यसअघि संसद्मा महरालाई सभामुख बनाउन पूर्वसभामुख एवं एमाले नेता सुवास नेम्बाङले राखेको प्रस्तावलाई माओवादी केन्द्रका देव गुरुङ र कांग्रेसका डा. मीनेन्द्र रिजालले समर्थन जनाएका थिए।