राजनीति

सांसदलाई प्रशिक्षण दिँदै प्रचण्ड र अाेलीले के भने ?

काठमाडाैं, २० फागुन ।  प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सरुवा–बढुवाका फाइल लिएर आफूकहाँ नआउन दुई पार्टीका सांसदलाई निर्देशन दिएका छन् । विकास निर्माणका फाइल बोक्न उनले सांसदहरूलाई सुझाए । ‘आफ्ना नातेदार, दाइभाइ पर्नेलाई प्राथमिकता नदिई विकास र समृद्धिको दिशातिर लाग्नुहोस्, देश विकासका लागि सांसदको ठूलो भूमिका हुने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुहोस्,’ ओलीले भने । अहिलेको संसद् विगतको जस्तो परम्परागत नभएको भन्दै ओलीले आफ्नो भूमिकालाई सदुपयोग गर्न सांसदहरूलाई निर्देशन दिए ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

धन्न मेरो एउटै जन्ममिति रहेछ !
जिम्मेवार पदमा रहेका व्यक्तिको एकभन्दा बढी नागरिकता वा जन्ममिति सार्वजनिक भइरहेको प्रसंग कोट्याउँदै प्रधानमन्त्रीले देशको हालत दर्शाउन खोजे । ‘हामी यस्तो देशका नागरिक छौँ, जहाँ प्रधानन्यायाधीशका दुईवटा नागरिकता, चिकित्सकका दुईवटा नागरिककता छन् । जहाँ सांसदको पनि जन्ममिति फरक–फरक छन् । धन्न मेरो नागरिकता एउटै रहेछ, २००८ साल फागुन ११ गते ।’ व्यंग्यात्मक शैलीमा उनले भने, ‘हाम्रा ज्येष्ठ सांसदको पनि नागरिकतामा जन्ममिति एउटा र वास्ताविक जन्ममिति अर्को छ । आइतबार उहाँसँगै शपथ लिनुपर्ने अवस्था छ । महेन्द्र राय यादवले मलाई दाइ भन्थे, पछि त उनैले ज्येष्ठ सदस्यको रूपमा शपथ खुवाउने भएछन् । भाइले शपथ खुवाउने भए, देश कता छ ?’

सर्वोच्चले क्षेत्राधिकार नाघ्यो
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको कामकारबाहीको पनि आलोचना गरे । राष्ट्रपतिले मनोनीत गरेका राष्ट्रिय सभाका तीन सदस्यको शपथ रोक्नु सही नभएको बताए । ‘यो अदालतको क्षेत्राधिकारको विषय होइन, कार्यकारीको क्षेत्राधिकारभित्रको विषय हो,’ ओलीले भने, ‘भोलि पेशी तोकिएको भन्ने सुनेको छु । यस विषयमा अनावश्यक उल्झनमा नरहँदा र चासो व्यक्त नगर्दा हुन्छ ।’

जबज र जनयुद्धको फ्युजनले यहाँसम्म आइपुग्यौँ : प्रचण्ड

 

माओवादी अध्यक्ष प्रचण्डले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी जनयुद्धको फ्युजनले अहिलेको अवस्थामा आइपुगेको बताए । ‘विश्वबाट कम्युनिस्टहरू पतन हुँदै गएको सन्दर्भमा मदन भण्डारीले जबजमार्फत कम्युनिस्ट आन्दोलन र जनमतलाई जगाउने काम गरे,’ प्रचण्डले भने, ‘माओवादीले जनयुद्धबाट गणतन्त्रलगायत परिवर्तन ल्याउने काम गर्‍यो । यसैले जबज र माओवादी जनयुद्धको फ्युजनमा कतै न कतै मेल हुँदै आएको छ ।’

एमाले र माओवादी फरक बाटो हुँदै आए पनि समाजवादी क्रान्ति गर्ने समयमा एक ठाउँ उभिएको बताउँदै प्रचण्डले विकास र समृद्धिको दिशातिर लाग्न सांसदहरूलाई निर्देशन पनि दिए । उनले भ्रष्टाचार निर्मूल पार्न वामशक्ति लाग्नुपर्ने बताए । ‘यो एकतालाई विकास र समृद्धिमा बदल्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसो गर्न नसके हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

नेम्वाङले सिकाए सांसदको मर्यादा
सांसदको मर्यादाबारे पूर्वसभामुखसमेत रहेका एमाले नेता सुवास नेम्वाङले दुई पार्टीका सांसदलाई प्रशिक्षण दिए । संसद्मा बस्ने, हिँड्ने, फोनमा कसरी कुरा गर्नेजस्ता विषय प्रशिक्षणमा समेटिएका थिए । सभामुखलाई कसरी सम्बोधन गर्ने, संसद्मा लामो समय बस्दा हाई आए कसरी जोगिनेजस्ता विषयमा समेत उनले जानकारी गराए ।