राजनीति

एमालेमा विवाद, माओवादीलाई घाटा

काठमाडाैं, १७ फागुन । मुख्यमन्त्री चुनिएको १५ दिनपछि प्रदेश ३ को सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमालेका तीन र माओवादीका तर्फबाट एक मन्त्री नियुक्त गरेका छन् ।
यसअघि २८ माघमा एमालेका केशव स्थापितले भौतिक पूर्वाधार र माओवादीका शालिकराम जमरकट्टेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका थिए ।
मुख्यमन्त्री पौडेलले पदबहाली गरेको एक साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने दाबी गरे पनि उनकै व्यस्तताका कारण ढिलाइ भएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।
एमालेबाट नियुक्त कैलाश ढुंगेललाई आर्थिक मामिला, अरुणप्रसाद नेपाललाई उद्योग, पर्यटन, वन तथा वातावरण र दावा दोर्जे लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीका युवराज दुलाल सामाजिक विकासमन्त्री बनेका छन् ।
एमालेमा विवाद, माओवादीलाई घाटा
माओवादीलाई तीन मन्त्रालय दिने सहमति भएको थियो । तर, एमालेभित्र विवाद भएपछि माओवादीले दुईवटामा चित्त बुझाउनुपर्‍यो । पछि मन्त्रालय थपेर दिने सहमति भएको आन्तरिक मामिलामन्त्री जमरकट्टेलले बताए ।