खेलकुद

यूएर्इसँग नेपालले जित्नैपर्ने दबाब

काठमाडौं, २८ माघ ।  नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।  अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।

विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बज शुरु हुनेछ । पछिल्लो तीन खेलमा युएईसँग लगातार हार व्यहोरेको नेपाललाई आजको खेल पनि चुनौतिका रुपमा रहेको छ । 
सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको थियो । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा पराजित भएको थियो । डिभिजन टु शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेलमा युएईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । 
डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपाल २  अंक जोडेर तेस्रो स्थानमा छ । समान २ अंक जोडेको युएई दोस्रो स्थानमा रहदा ४ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ । पहिलो खेलमा नामिवियालाई १ विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।