राजनीति

प्रतिनिधिसभा समानुपातिकतर्फको सिट बाँडफाँट आज

काठमाडौं, २६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त सिट संख्याको बाँडफाँट आज हुने भएको छ । निर्वाचन आयोगका अनुसार आज निर्वाचन आयोगले सिटसंख्या घोषणा गर्नेछ ।
त्यसपछि राजनीतिक दलहरुलाई तीन दिनको समय दिएर नाम माग्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि एकसाताको समय दिइने भए पनि निर्वाचन आयोगले कार्यविधि संशोधन गरेर तीनदिन बनाएको हो ।
निर्वाचन आयोगका अनुसार राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न २९ गतेसम्मको समय दिइनेछ । त्यसपछि दुई दिन नाम सच्याउनुपर्ने अवस्था भएमा सच्याउन समय दिइने आयोगले जनाएको छ ।
संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था भएको भन्दै निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नहुन्जेल संघीय संसदले पूर्णता नपाउने अडान राख्दै आएको थियो । राष्ट्रिय सभाको निर्वाचन सकिएपछि आयोगले प्रतिनिधिसभामा सिट बाँडफाँट गर्न लागेको हो ।