राजनीति

मुख्यमन्त्रीको टुंगो दलको चुनावबाटै: ओलीले गरेनन् सहमतिको प्रयास

काठमाडाैं, २५ माघ । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

१ र ३ मा कडा प्रतिस्पर्धा, ४ मा खगराज निर्णायक
प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् । ९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् । आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् । तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ ।

प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् । चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ । नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् ।

६ नम्बरमा न्युट्रल निर्णायक
एमालेभित्र प्रदेश २, ६ र ७ मा पनि चुनावकै तयारी भइरहेको छ । २ को दलको नेतामा स्थायी समिति सदस्य सत्यनारायण मण्डल र पोलिटब्युरो सदस्य शत्रुधन महतो, ६ मा प्रकाश ज्वाला र यामलाल कँडेलले दाबी गरेका छन् । स्रोतका अनुसार ६ मा दलमा रहेको २० मतमध्ये ज्वाला र कँडलेको पक्षमा ९–९ मत रहेकाले २ न्युट्रल मत तान्ने दुवैले अन्तिम कसरत गरिरहेका छन् । प्रदेश ७ मा केन्द्रीय सदस्य प्रकाश शाह, अर्जुन थापा, दीर्घ सोडारी, पठानसिंह बोहरालगायत दलको नेताको आकांक्षी छन् । तर, उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलले जसलाई सहयोग ग¥यो उही नै सर्वसम्मत या चुनावी प्रतिस्पर्धाबाट चुनिने सम्भावना देखिएको एक नेताले बताए ।

 ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास
मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन् । उनले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेतासँग बसेर निर्णायक छलफल नगरेका कारण सर्वसम्मत दलको नेता टुंगिने सम्भावना लगभग समाप्त भएको एक नेताले बताए । यद्यपि, सचिवालय सचिव प्रदीप ज्ञवालीले सहमति जुटाउन अनौपचारिक प्रयास जारी रहेको जानकारी दिँदै अहिलेसम्म सर्वसम्मतको वातावरण बनिनसकेको बताए । ओलीले आकांक्षीहरू शाक्य, पाण्डे, आचार्य, राईसहित सबै नेतालाई एक्लाएक्लै राखेर एक चरण छलफल गरिसकेका छन् ।