राजनीति

राष्ट्रिय सभामा ९९.५२ प्रतिशत मतदान, ८ जना अनुपस्थित

काठमाडौं, २४ माघ ।  सात प्रदेशमध्ये ६ प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाताको व्यापक, उत्साहजनक र शान्तिपूर्ण सहभागितामा मतदान कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य दिनको ३ बजे सम्पन्न भएको थियो । कुल ५६ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नम्बर २ का ८ वटै सदस्यहरू निर्विरोध निर्वाचित भएकाले त्यहाँ मतदान गर्नुपरेन । कुल २ हजार ५६ जना मतदातामध्ये मतदानमा ६ प्रदेशका स्थानीय तहका १ हजार २३४ र प्रदेश सभाका ४४३ गरी कुल १ हजार ६७७ जना मतदातालाई मताधिकार प्राप्त थियो ।  सम्बन्धित प्रदेशमा रहेका निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त पछिल्लो विवरण अनुसार मतदानमा ९९.५२ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए ।
६ वटै प्रदेशका जम्मा १ हजार ६७७ जना मतदातामध्ये १ हजार ६६९ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् । जम्मा ८ जना मतदाता अनुपस्थित थिए ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सभाका सदस्यहरू गरी २,०५६ मतदाता रहेका थिए ।
त्यसैगरी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १,५०६ जना मतदाता प्रत्येकको मतभार १८ र प्रदेश सभाका सदस्य ५५० जना मतदाता प्रत्येकको मतभार ४८ हुने प्रावधान छ ।