राजनीति

राष्ट्रियसभा निर्वाचन बुधबार

काठमाडाैं, २३ माघ । राष्ट्रिय सभा चुनाव बुधबार हुँदैछ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको  जानकारी दिनुभयाे । चुनाव सम्पन्न भएकै दिन रातिबाटै मतगणना थालिनेछ ।  सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ निर्वाचन अायुक्त यादवले बताए ।

आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ । राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने उहाँले बताउनुभयाे ।  राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।

निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको बताउँदै अाएकाे छ । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत अघि बढ्न सकेकाे छैन ।