राजनीति

मुख्यमन्त्री र सभामुख बन्न एमाले-माओवादीभित्र आन्तरिक दौडधुप

काठमाडौं, २३ माघ ।  प्रदेश मुख्यमन्त्री र सभामुख बन्नका लागि एमाले र माओवादी केन्द्रभित्र आन्तरिक दौडधुप तीव्र भएको छ । तर केन्द्रीय नेतृत्व भने सर्वसम्मत गराउने प्रयासमा जुटेको छ । फागुन पहिलो साताभित्र प्रादेशिक सरकार र प्रदेशसभा सभामुख चयन गरिसक्नुपर्ने छ ।

त्यसैले आकांक्षीहरू पार्टीभित्रका प्रादेशिक कमिटी, संसदीय दल मात्र नभई केन्द्रीय नेताहरूलाई समेत आफ्नो पक्षमा पार्न भेटघाट गरिरहेका छन् । भेट्न आउने नेताहरूलाई दुवै दलका केन्द्रीय नेतृत्वले पहिलो अभ्यास भएकाले सकेसम्म चुनावभन्दा सर्वसम्मति गर्न सुझाव दिइरहेका छन् ।

दुई दलबीच पार्टी एकताको प्रयास भइरहेकै बेलामा एउटै पार्टीभित्रका पदमा नेताहरूबीच प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने भन्दै सकेसम्म मिलेर जानुपर्ने उनीहरूको सुझाव छ । एमाले अध्यक्ष केपी ओलीले आकांक्षी र सम्बन्धित प्रदेशका सचिवालय सदस्यहरूसमेतलाई बोलाएर छलफल गरेका छन् ।

उनले सकेसम्म मिल्न नेताहरूलाई दबाब दिएका छन् । सबै प्रदेशले सभामुख चयनको मिति तय गरिसकेका छन् । मुख्यमन्त्री पनि ५ गतेभित्र चयन भइसक्नुपर्ने छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।