राजनीति

प्रदेश २, ५, ६ र ७ मा आज पहिलो बैठक, १ र ४ मा भोलि

काठमाडौं, २१ माघ । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो बैठक बसिसकेको छ भने अन्य थप चारवटा प्रदेशमा आज प्रदेशसभाको पहिलो बैठक बस्दै छ । प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण यारी पूरा भएको छ ।
प्रदेश ३ को पहिलो बैठक माघ १८ मै सम्पन्न भइसकेको छ भने प्रदेश १ र ४ को माघ २२ गते तोकिएको छ । संघीयता कार्यान्वयनसँगै हुन लागेको प्रदेश बैठकमा प्रमुख दलका सांसदहरूले आफ्नो प्रदेशलाई समृद्ध बनाउने सपना लिएर आएको बताएका छन् ।
प्रदेश २ मा तराई मधेसका ८ जिल्लाबाट अधिकांश प्रदेश सांसद दुई दिनअघि नै जनकपुर पुगेका छन् । भावी सरकार निर्माण र प्रदेश सांसदको भूमिकाबारे उनीहरू आन्तरिक छलफल चलाइरहेका छन् । प्रदेश २ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गर्नेछन् । मधेस आन्दोलन चर्किएका जिल्लालाई समेटेर बनाइएको प्रदेश २ का सांसदहरू संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री छान्ने कसरतमा छन् । यो प्रदेशमासंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले मुख्यमन्त्री चयन गर्नेछन् ।