राजनीति

एजेण्डाविहीन भ्रमणमा भेटघाटको औचित्य के ?

सम्बन्ध घनिष्टतामा बदल्ने प्रण

काठमाडौं, १९ माघ । नेपालको दुई दिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजको काठमाडौंमा भव्य स्वागत भएको छ । काठमाडौं पुगेसँगै उनको राजनीतिक भेटवार्ता पनि तीव्र बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री स्वराजबीच सोल्टी होटलमा भेटवार्ता भएको हो । अाकस्मिक रुपमा दुई दिने नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेको  थियो । रात्रीभोजमा सरिक हुनुअघि अध्यक्ष ओली र स्वराजबीच भेटवार्ता भएको हो । भेटमा आपसी हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ । 

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ । नेपालको भ्रमणमा रहेकी स्वराजले  आफ्नो भ्रमण नेपाल–भारत सम्बन्धलाई अझ गहिरो र फराकिलो बनाउन मात्र  रहेको बताएकी छन्। बिहीबार आयोजित रात्री भोजमा बोल्दै भारतीय विदेशमन्त्री स्वराजले आफ्नो यात्रामा कुनै विशेष एजेण्डा नभएको र सिस्टाचार भेटघाटका लागि आफु नेपाल आएको बताएकी छन्।

प्रेसको पहुँचबाट बाहिर राखिएको रात्री भोजमा एमाले पक्षबाट नौ जना र भारतीय पक्षबाट १० जना सामेल हुनुपूर्व ओली र स्वराजले करिव ४५ मिनेट एक्ला एक्लै वार्ता गरेका थिए, जसको विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन्। स्वराजलाई स्वागत गर्दै ओलीले वाम गठबन्धनको विजयले संशकित नहुन आग्रह गर्दै नेपाल र भारतका साझा एजेण्डामा भारतसँग सहकार्य गर्न आफु इच्छुक रहेको बताए ।

विकास, समृद्धि र गरिबी निवारण जस्ता समस्यालाई समाधान गर्दै दुई मुलुकले आफ्ना सम्बन्धलाई गहिरो र फराकिलो पार्न सक्ने धारण व्यक्त गरे । त्रिभुवन विमानस्थलबाट बाहिरिदै गर्दा पनि स्वराजले आफु मित्रहरुलाई भेट्न आएको र त्यसैले कुनै खास एजेण्डा बोकेर नआएको बताएकी थिइन।

स्वराजले शुक्रबार सबैभन्दा पहिला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोल्टी होटलमै भेट्नेछिन् भने राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘वर्किङ लञ्च’मा बालुवाटारमा भेट गर्दैछन्। 

यसैबीच,नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्वराजको नेपाल भ्रमण उपयुक्त समयमा नभएको बताएका छन्। निर्वाचन भइसकेको र नयाँ सरकार गठन नभइसकेको अवस्थामा भएको भ्रमणले भारतप्रति थप आशंका पैदा गर्न सक्ने कोइरालाको आशय छ ।