राजनीति

कांग्रेसले तोक्यो प्रदेश केन्द्रीय प्रतिनिधि, कहाँ कसलार्इ खटाइयाे ?

काठमाडौं, १९ माघ । सबै प्रदेशसभाको बैठक शुरु हुन थालेपछि विहीबार कांग्रेसले शीर्ष नेताको बैठक गरी विधान निर्माण गर्न समिति गठन गरेको छ । त्यसका साथै बैठकले सातै प्रदेशका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ । कांग्रेसले प्रदेश संसदीय दलको नेता चुन्न र कार्यसमिति गठन गर्नका लागि सातवटै प्रदेशमा एक–एक जना केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
ती प्रतिनिधिले प्रदेशको राजनीतिक समिकरण र आफ्नो शक्ति अनुसार प्रदेशमा सभामुख र उपसभामुखको छनौट र निर्वाचन पर्यवेक्षणको काम समेत गर्ने छन्। वाम गठबन्धनले प्रदेश दुई बाहेक सबै प्रदेशहरुमा प्रतिपक्षलाई कुनै स्थान नदिने गरी सभामुख र उपसभामुखको पद दुई पार्टीबीच गरिसकेका छन्।
बिहीबार प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले प्रदेश एकमा मिनेन्द्र रिजाल, प्रदेश दुईमा विमलेन्द्र निधि, प्रदेश तीनमा डिना उपाध्यय, प्रदेश चारमा गोविन्द भट्टराई, प्रदेश पाँचमा बालकृष्ण खाँड, प्रदेश छमा हृदयराम थानी र प्रदेश सातमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको हो। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले संघीय ढाँचालाई समावेश गर्ने गरी विधान मस्यौदा तयार गर्न समिति समेत गठन गरिएको छ।