राजनीति

प्रदेश ५ को प्रदेशसभा बैठकको तयारी तीव्र

रुपन्देही, १८ माघ । प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार रूपन्देही पुगेका छन् । 
प्रदेश नं ५ को बैठक बस्ने स्थल तोकिएको बुटवल उद्योग वाणिज्य संघको सचिवालय र सभाहलको संघीय संसद् सचिवालयले तोकेको मापदण्डबमोजिमको निर्माणको काम अघि बढाइएको छ । उक्त भवनमा प्रदेशसभा सचिवालय र प्रदेशसभा बैठक भवनमा साइनबोर्ड राख्ने पहिलो काम भएको छ । 
बैठक कक्षमा संघीय संसद् सचिवालयले तोकेको मापदण्डबमोजिमको प्रदेशसभा बैठक कक्षको संरचनाको थालनी अझै शुरु हुन सकेको छैन । बैठक कक्षमा सभामुख, उपसभामुखलगायतको लबि छुट्याउनुपर्ने, मर्यादापालक, सभामुखको अगाडि दायाँतर्फ सत्ता पक्ष र बायाँतर्फ प्रतिपक्षका सदस्य बस्ने लबि तोकेर बनाउनुपर्ने, कार्पेटिङ गर्ने र कुर्सीको रङ समान गर्ने, दर्शकदीर्घा र संचारकर्मीका लागि अलगै स्थान तोकेर व्यवस्थापन गर्नेलगायत प्रारम्भिक कामको शुरुवात हुँदैछ । प्रदेशसभा कक्षको अगाडिको मञ्चमा सभामुख, सचिव र कर्मचारी बस्ने र सोही ठाउँमा रेकर्डिङ कक्षसमेत रहने गरी निर्माण गरिने छ । 
बैठकलाई मर्यादित र उत्कृष्ट बनाउन आजै राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वसँग सर्वदलीय बैठक सम्पन्न गरिएको छ । संसदीय परम्पराअनुसार बैठक बस्नु अघि बैठकका एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बस्नुपर्ने हुन्छ । तर, हालसम्म कार्यव्यवस्था समिति नै गठन नभएकाले सर्वदलीय बैठकले एजेण्डा तय गर्न सहज हुने ठानेर नै बैठक आह्वान गरिएको छ । प्रदेशसभाको पहिलो बैठक ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलको अध्यक्षतामा बस्नेछ । सोही बैठकले सभामुख, उपसभामुखको चयनको मिति तय गर्नेछ ।