राजनीति

७ वटै प्रदेशबाट ८३ जनाकाे उम्मेदवारी

काठमाडौं, १० माघ । आयोगका अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा चुनावमार्फत् आउने ५६ जनाका लागि ७ वटै प्रदेशवाट ८३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । राष्ट्रियसभाका लागि माओवादी नेता रामबहादुर थापा देखि एमालेको तर्फबाट कोमल वलीसम्मले उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्ता गराएपछि माओवादी केन्द्रका नेता रामबहादुर थापाले विकास निर्माणको कामलाई तिव्रता दिने बताए ।

त्यस्तै प्रदेश नम्बर ३ बाट नेपाली काग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका राधेश्याम अधिकारीले संविधान कार्यान्वयन र विकास निर्माणको कामलाई सकारात्मक रुपले गति दिन काम गर्ने बताए ।

प्रदेश नम्बर ३ मा सबैभन्दा धेरै १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काग्रेसबाट ४ जना, एमालेका ६ जना, माओवादी केन्द्रबाट ४ जना , नेपाल मजदुर किसान पार्टीबाट ४ जना र राप्रपाका तर्फबाट १ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन आयोगका अनुसार देशका ७ वटै प्रदेशमा नेकपा एमालेका तर्फबाट २९ जना, माओवादी केन्द्रबाट १४ जना , नेपाली काग्रेसका तर्फबाट २६ जना, राष्ट्रिय जनमोर्चाका तर्फबाट ३ , राप्रपाका २ जना, संघीय समाजवादी फोरमबाट २ जना, राजपाका तर्फबाट २ र नेपाल संघीय समाजवादी पार्टीका १ जना गरी कुल ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ २४ गते हुने राष्ट्रियसभाको चुनावमा २ हजार ५६ मतदाता रहेका छन् ।