राजनीति

कोमललाई उम्मेदवार बनाएपछि एमालेमा हंगामा

काठमाडौं, १० माघ । नेकपा एमालेभित्र राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोट पक्रियामा पार्टीमा पुर्याएको योगदान भन्दा पनि मापदण्डविपरीत उम्मेदवार छनोट गरिएको भन्दै विवाद देखिएको छ । पार्टीले बनाएको मापदण्डको आधारभन्दा पनि नेताहरुको खल्तीबाट राष्ट्रियसभाका उम्मेदवार छनोट हुँदा इमानदार नेताहरु ओझेलमा परेको भन्दै नेतृत्वको आलोचना भएको छ ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्यका लागि कोमल वलीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ । प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट टिकट पाउने चर्चा भए पनि अन्तिममा आएर पार्टीले वलीको नाम हटाएको थियो । लगत्तै उनले बागी उम्मेदवारी दिएपछि एमालेका नेता शंकर पोखरेलको आग्रहमा उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
राप्रपा परित्याग गरेर निर्वाचनको केही अघि मात्र वली एमालेमा प्रवेश गरेकी थिइन् ।