राजनीति

राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडाैं, ३० पुस । २०७४ माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् ।  आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा स्थापना गर्ने निर्णय गरेबमोजिम ती ठाउँहरूमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् । 
प्रदेश नम्बर १ मा मोरङ, प्रदेश नम्बर २ मा धनुषा, प्रदेश नम्बर ३ मा ललितपुर, प्रदेश नम्बर ४ मा कास्की, प्रदेश नम्बर ५ मा दाङ, प्रदेश नम्बर ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा डोटी जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
न्याय परिषद्को सचिवालयबाट प्राप्त नामावलीबमोजिम सात जना जिल्ला न्यायाधीशलाई आयोगले पुस २७ गतेदेखि लागु हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिसकेको छ ।