राजनीति

राष्ट्रियसभा गठनको बाटो खुल्यो

काठमडौं, १५ पुस ।  सरकारले पेश गरेको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले  स्वीकृत गरेकी छिन् ।  दुई महिनासम्म अड्काएर  रहेको बिधेयक अन्ततः स्वीकृत भएको छ ।  विधयक प्रमाणिकरण भएसँगै राष्ट्रियसभा गठनको बाटो खुलेको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय प्रणाली अनुसार नै हुनेछ । यसअघि एमालेले यो प्रणाली अमान्य हुने बताउँदै आएको थियो । एमालेले बहुमतीय प्रणाली अनुसार राष्ट्रियसभा गठन हुनुपर्ने एमालेको अडान थियो । अध्यादेशमा दलीय सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेकी थिइनन् । 
तर ‘हलो अड्काएर गोरु चुट्ने’ प्रयास असफल भएपछि उनले वाध्य भएर अध्यादेश स्वीकृत गरेकी हुन् ।  यसअघि नेपाली काँग्रेस नेतृत्वको सरकारले अध्यादेश स्वीकृत गर्न दबाब दिइरहेको थियो भने अन्य दलहरुले पनि अध्यादेश अड्काएर राख्न नमिल्ने बताउँदै आएका थिए ।  माओवादी केन्द्रले भने मध्यमार्ग अपनाउन आग्रह गरेको थियो । 
प्रधानमन्त्री शेरबहादुर देउवासंग शुक्रबार बिहान भएको छलफल सकिएपछि राष्ट्रपति भण्डारी जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्न वाध्य भएकी हुन् ।  विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि भण्डारी बिहीबारै स्वीकृत गर्ने मनस्थितिमा पुगेकी थिइन् । नयाँ सरकारको नेतृत्व गर्न आतुर देखिएको एमाले भने विफल देखिएको छ । एमालेले बहुमतीय प्रक्रियाबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडान राख्दै आएको थियो ।