राजनीति

रानीपोखरी रमिताः उपमेयरकाे ताला मेयरले तोडे

काठमाडौं, १२ पुस । रानीपोखरी पुनःनिर्माणबारे काठमाडौं महानगरका मेयर उपमेयरबीच विवाद चुलिएको छ । रानीपोखरी पुनःनिर्माणमा आफूसँग परामर्शसमेत नगरेको भन्दै असन्तष्टि जनाउँदै आएकी उपमेयर हरिप्रभा खड्गी र मेयर विद्यासुन्दर शाक्यबीच मंगलबार दिउँसो ताला तोड्ने र लगाउने प्रतिस्पर्धा  नै चल्यो । 
उपत्यकाको सांस्कृतिक धरोहर रानीपोखरीमा मंगलबार विहान ९ बजे  महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीसहितको टोली पुग्यो । भित्री भाग अवलोकन गर्यो अनि बाहिर निस्केर गेटमा तालाबन्दी गरेर लेखियो सम्पदामाथि भएको अतिक्रमणको विरोधमा तालाबन्दी । 
उपमेयर सहितको टोलीले तालाबन्दी गरेर कार्यालय पुग्दै गर्दा मेयर विद्यासुन्दर शाक्य सहितको टोली आयो । महानगरका कर्मचारी प्रहरी सहित रानी पोखरी पुगेका मेयर शाक्यले उपमेयरको ताल तोडिदिए । ताला तोड्ने क्रममा स्थानीय भने भनाभनमा उत्रिएका थिए ।
स्थानीयको बिरोधका बीच मेयर शाक्यको टोली गेटमा लगाएको ताला तोड्न लगाई भित्र रानीपोखरी भित्र प्रवेश गरे । 
एउटै छातामुनि रहेर काम गर्ने दुई उच्च अधिकारीबीच एकै दिन दलबलसहित देखिएका दृश्यले रानीपोखरीको तमाशा छताछुल्ल गरेको छ । मेयर र उपमेयरले ताला लगाउने तोडाउने मात्र होइन आरोप प्रत्यारोपमैं उत्रिए ।
०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काठमाडौंको रानीपोखरीको पुनर्निमार्ण डेढ वर्षमा सक्ने सरकारी लक्ष्य थियो । तर, भूकम्प गएको ३२ महिना वितिसक्दा पनि ऐतिहासिक र सांस्कृतिक हिसावले महत्वपूर्ण रानीपोखरीको निमार्णले गति लिन सकेको छैन । उपत्यकाको धरोहर मानिने सम्पदा मध्येको रानीपोखरीको पुनःनिर्माण पटक पटक विवाद हुने गरेकोछ । रानीपोखरीको पुननिर्माणमा काठमाडौंका सांसदहरुले महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाएका छन् । काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदद्वय भीमसेनदास प्रधान र गगन थापाले रानी पोखरी निर्माणमा कंक्रिट राख्ने महानगरपालिकाको निर्णय, सम्पदा मास्ने नियतले ल्याइएको भन्दै आपत्ति जनाए । 
रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण गर्ने काम कानुनी रुपमा पनि गलत रहेको पुरातत्ववीद्को दावी छ । काठमाडौं महानगरपालिकाको सम्पदा मास्ने काममा महानगरपालिका लागि परेको भन्दै रोक्न सबैले पहल गर्नुपर्नेमा पु्रातत्वविद्ले जोड दिएका छन् ।
काठमाडौं महानगरपालिकाले सम्पदास्थल निर्माणमा आरसीसी ढलान प्रयोग गरेकोमा युनेस्कोले आपत्ति जनाउँदै आएको थियो । १० करोड लागतमा निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचनाले सम्पदाको प्रविधि, संस्कृति र ईतिहास नै मासिने सरोकारवालाको भनाइ छ ।