राजनीति

स्याङ्जामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दुई गम्भीर घाइते

स्याङ्जा, ११ पुस ।  स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको छ । बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि ‘अन्तर्घाती प्रवेश’ गरे भन्दै उनीहरुमाथि हातपात भएको जनाइएको छ । 

कुटपिटपछि घाइते भएका अर्याल र ढकाललाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । जिल्लामा कांग्रेसको चुनावी नतिजा राम्रो हुन नसकेको भन्दै बैठकमा नेता–कार्यकर्ताबीच आरोप प्रत्यारोप चलेको थियो। स्याङ्जा क्षेत्र नम्बर १ मा कांग्रेस १० हजार मतले पराजित भएको थियो भने क्षेत्र नम्बर २ मा ३७ सय मतले उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले चुनाव हारेका थिए। 
समीक्षात्मक बैठकमा अन्तर्घातको विषय उठेपछि कुटाकुट भएको थियो । ढकालको हात भाँचिएको छ भने अर्याललाई संवेदनशील अंगमा प्रहार गरिएको बताइएको छ । उनलाई पोखरामा उपचार हुन नसक्ने बताइएपछि हेलिकोप्टरबाट काठमाडौंको बयोधा अस्पतालमा उपचारका लागि ल्याइएको छ ।