राजनीति

सरकार बन्न संवैधानिक अड्चन छैनः केपी ओली

काठमाडौं, २ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकार गठन गर्न कुनै संवैधानिक अड्चन नभएको बताउनुभएको छ । सरकार गठन र राष्ट्रियसभाको निर्वाचन फरक विषय रहेको भन्दै ओलीले क्षणिक र मौसमी तर्क नगर्न सरकार समर्थित कानुनविदलाई पनि आग्रह  गर्नुभयो । 
नेपाली कांग्रेसले पराजित भईसकेपछि अनेक बखेडा झिकेर सत्ता लम्बाउने प्रयास गरेको आरोप उहाँले लगाउनुभयो । हिजो भक्तपुरको बालकोटस्थित आफ्नो निवासमा पत्रकारहरुसँग अध्यक्ष ओलीले राष्ट्रिय सभा गठन र सरकार गठन प्रक्रिया नै भिन्न भएकाले राष्ट्रिय सभा गठन नभई सरकार गठन हुदैन भन्नु कांग्रेसको सत्ता लिप्सा भएको टिप्पणी गर्नुभयो । 
नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको भन्दै उहाँले बहुमत ल्याएका आफुहरुले असंबैधानिक नियुक्तिबाट सपथग्रहण नगर्ने उद्घोष गर्नुभयो । यही सरकारले प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरिरहेका बेला अध्यक्ष ओलिले सरकालाई त्यसो नगर्न चेतावनी दिनुभयो । उहाँले निर्वाचन आयोगलाई पनि संविधान र कानुनको पालना गर्दै लोकतन्त्रको सम्मान गर्न सचेत गराउनुभयो । 
अध्यक्ष ओलीले एकल संक्रमणिय भनेर संविधानले नभनेकाले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा सो व्यवस्था राख्न नसकिने भन्दै क्षणिक र मौसमी तर्क नगर्न आग्रह समेत गर्नुभयो ।