राजनीति

५ दलले पार गरे थ्रेसहोल्ड, कस्लाई कति सीट ?

काठमाडौं, २ पुस । प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ३१ लाख ६१ हजार २ सय ९५ मत सहित समानुपातिक तर्फ पनि आफुलाई पहिलो दलको रुपमा उभ्याएको छ । कंग्रेस ३१ लाख ११ हजार ६ सय ४३ मतका साथ दोस्रो र माओवादी केन्द्र १२ लाख ९५ हजार ९ सय ३ मतका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानको राष्ट्रिय जनता पार्टीले ४ लाख ७० हजार ४ सय ८६ र संघीय समाजवादी फोरम नेपाल ४ लाख ६९ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् । यो नतिजाका आधारमा ५ दलले मात्र थ्रेसहोल्डको सिमा कटाएका छन् । प्रत्यक्षमा एक एक सिट जितेका नयाँ शक्ति, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको राष्ट्रिय दल बन्ने सम्भावना पनि सकिएको छ ।
दलहरूले प्राप्त गरेको मतअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । सबै गणना सकिँदा उल्लिखित सिट संख्यामा सामान्य मात्र हेरफेर हुन सक्ने  निर्वाचन आयोग स्रोतले जनाएको छ । 
यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् । आयोगले ‘सेन्टलग’ विधिबाट दलहरूले पाउने सिट निर्धारण गर्नेछ । ३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाए ।  प्रत्यक्षमा एमालेले ८० सिट जित्दा कांग्रेसले २३ सिट मात्रै जितेको छ ।