राजनीति

प्रतिनिधिसभाको सबै परिणाम सार्वजनिक, समानुपातिकको गणना जारी

काठमाडौं, २७ मंसिर । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रतिनिधिसभातर्फको सबै परिणाम सार्वजनिक भएको छ ।  आज विहान सुनरसरी क्षेत्र नं. ३ को परिणाम सार्वजनिक भएसँगै सम्पूर्ण १ सय ६५ तहको नतिजा सार्वजनिक भएको हो । आज विहान र्साजनिक पछिल्लो मत परिणाम अनुसार सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विजय गच्छदार विजयी हुनु भएको छ । उहाँले ३८ हजार ९ सय ७२ मतका साथ विजयी हासिल गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेकी छन् । प्रतिनिधिसभातर्फ १ सय ६५ स्थान मध्ये नेकपा एमाले ले ७७ स्थानमा, नेकपा माओवादी केन्द्रले ३६, नेपाली काँग्रेसले २३, राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरम नेपाले १० स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका उम्मेदवार एक÷एक स्थानमा विजयी हुँदा एक जना भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यसैबीच, समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले १९ लाख ७३ हजार ९ सय ७६ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले १८ लाख ८४ हजार ८ सय १८ र नेकपा माओवादी केन्द्रले ७ लाख ६२  हजार ५ सय ४४ मत पाएका छन् । संघीय समाजवादी फोरम नेपालले २ लाख ४५ हजार ७ सय ७५, राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ८३ हजार ५ सय १८,  राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३१ हजार ९ सय ५४., विवेकशील साझा पार्टीले १ लाख २२ हजार ५ सय ७७, नयाँ शक्ति पार्टीले ५६ हजार ३ सय १२ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्रक पार्टी (प्रजातान्त्रिक)ले ४३ हजार ९ सय ३ र राष्ट्रिय जनमोर्चाले ३४ हजार ९ सय ७३  मत प्राप्त गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको र एक साताभित्र अन्तिम परिणाम आईसक्ने जनाएको छ ।