राजनीति

प्रतिनिधिसभातर्फ एक बाँकी, समानुपातिक गणना जारी

काठमाडौं, २७ मंसिर । दुई चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।  पहिलो हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य १ सय ६५ र प्रदेशसभा सदस्य ३ सय ३० सदस्यका लागि निर्वाचन भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचन तर्फ नेकपा (एमाले) का ८०, नेकपा (माओवादी केन्द्र) का ३६, नेपाली काँग्रेसका २२, राष्ट्रिय जनता पार्टी नेपालका ११ र संघीय समाजवादी फोरम नेपालका १० प्रतिनिधि चुनिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले १७ लाख ७१ हजार ९ सय ४३ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले १६ लाख ८७ हजार ९ सय ५९ र नेकपा माओवादी केन्द्रले ७ लाख २ सय ९५ मत पाएका छन् ।

संघीय समाजवादी फोरम नेपालले २ लाख १४ हजार ५ सय ६, राष्ट्रिय जनता पार्टी नेपालले १ लाख ५१ हजार ६०,   राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख १६ हजार २ सय ६०., विवेकशील साझा पार्टीले १ लाख ११ हजार ९ सय ६, नयाँ शक्ति पार्टीले ५३ हजार ६८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्रक पार्टी (प्रजातान्त्रिक) ले ३९ हजार ३ सय ७३ र राष्ट्रिय जनमोर्चाले ३३ हजार ७ सय ३७  मत प्राप्त गरेको छ । आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको र एक साताभित्र अन्तिम परिणाम आईसक्ने जनाएको छ ।