राजनीति

राष्ट्रपति भण्डारी आजबाट युएईको भ्रमणमा

काठमाडौं, २७ कार्तिक । नेपाल तथा संयुक्त अरब इमिरेट्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा आजबाट राष्ट्रपति विद्यादेवी भण्डारीले युएईको भ्रमण गर्नुहुने भएको छ ।  आपसी सद्भावना र सहयोगमा आधारित सुमधुर तथा मैत्रीपूर्ण सम्बन्ध रहेका यी दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन राष्ट्रपति  भण्डारीले सोमबारदेखि भ्रमण गर्न लाग्नुभएको हो । राष्ट्रपतिको यो मुलुकको भ्रमणले द्विपक्षीय थप सहयोग पुग्ने परराष्ट्र मामिलामा कार्यरत व्यक्तित्वहरूको विश्वास छ । 

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स  (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति राष्ट्रपति त्यसतर्फ जान लाग्नुभएको हो । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो खाडी संकटको बेला युएई भ्रमणमा जानु ठिक नहुने सुझाव केही साता अघि दिएका थिए । राष्ट्रपतिकै जोडबलमा युएई भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको स्रोतले बतायो। कार्यकाल सकिनै लाग्दा राष्ट्रपतिले विदेश भ्रमणको चाहना राखेको हुँदा प्रधानमन्त्रीले ठाडै अस्वीकार चाहीं गरेनन्।

मंगलबार राष्ट्रपति भण्डारी र युएईका युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछ ।भ्रमण क्रममा राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजना गरिने एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ । 

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा उहाँकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधिहरु रहनेछन । 

नेपाल तथा युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वर्ष पुगेको सुखद अवसरमा यस भ्रमणले यी दुई मुलुकबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने धारणा राष्ट्रपतिका सञ्चार सल्लाहकार माधव शर्मा व्यक्त गर्नुभयो । उहाँले यस भ्रमणबाट दुई मुलुकबीच श्रम, सीप तथा लगानीको क्षेत्र विस्तार गर्न निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कनुहुनेछ । 
युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार रहेको बताइन्छ ।

नेपाली कामदारका लागि पछिल्लो समय यो एक राम्रो गन्तव्य स्थलका रुपमा विकसित हुँदै गएको छ । उहाँले युएईमा सीपयुक्त र पेशागत नेपाली श्रमिकको सङ्ख्या अधिक रहेको र आयकर नलाग्ने क्षेत्रमा नेपालीहरूले रामै लगानी गरिरहेको छ । युएईमा भारतीय, पाकिस्तानी, फिलिपिनो तथा श्रीलङ्काली श्रमिकको सङ्ख्या पनि निकै ठूलो छ । बेलायती नागरिककै सङ्ख्या पनि युएईमा एक लाखभन्दा बढी रहेको अनुमान छ ।