राजनीति

काठमाडौं-२ का मतदाताको माग

तीनकुने, एयरपोर्ट र मनोहरा जग्गा समाधान

बलराम प्यासी

काठमाडौं, कार्तिक । मंसीर २१ गते दोस्रो चरणमा सम्पन्न हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मत माग्न आउने प्रमुख राजनैतिक दलका उम्मेदवारसंग काठमाडौं—२ का एकचौथाई मतदाताको माग लामो समयदेखि समाधान हुन नसकेको व्यक्तिगत जग्गाजमीनसंग मात्रै केन्द्रीत रहेको छ ।  जसको प्रत्यक्ष सरोकार नेपाल सरकारसंग छ । 

तिनकुनेभित्रको करीव ५१ रोपनी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्वतर्फको करीव ३ सय रोपनी र मनोहरा जग्गा एकिकरणभित्र करीव २ हजार रोपनी जग्गामा लामो समयदेखि सरकार र स्थानीय जग्गाधनीवीच समाधानहीन समस्या जारी छ । जसमा स्थानीय करीव १० हजारभन्दा बढी मतदाताको मत जोडिएको छ । 
पुर्वबाट काठमाडौं प्रवेश गर्ने मुख्यद्वार अत्यन्त व्यस्त र महंगो कोटेश्वरमा २÷४ रोपनी जग्गाका मालिक हुँदाहुँदै पनि लामो समयदेखि सरकारसंग जग्गाको विवाद नमिल्दा स्थानीय जग्गाधनीहरु सुकुम्वासी सरह बाँच्न वाध्य छन् । 
त्यसो त खानेपानीको समस्या समाधान, भित्री र वाहिरी सडक कालोपत्रे गर्नुपर्ने सो क्षेत्रका अरु मतदाताको माग रहेको छ । यसैगरि पुरानो सिनामंगलबाट नयाँ सिनामंगल जोड्ने भक्तपुर—काठमाडौं आवतजावत गर्ने पुरानो सडकलाई त्रिभुवन विमानस्थलको धावनमार्ग मुनिबाट अन्डरग्राउण्ड बनाउनुपर्ने मागमा केन्द्रीत छ । 
साविक काठमाडौंको १ र हाल निर्वाचन क्षेत्र २ बनेको सो क्षेत्रमा २०६४   सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपाललाई पराजित गरी तत्कालिन माओवादी पार्टीका झक्कुप्रसाद सुवेदीले चुनाव जितेका थिए ।
सो ठाउँबाट तत्कालिन नेकपा माओवादी, नेकपा एमाले र नेपाली काग्रेसका उम्मेदवार विजयी भएतापनि उनीहरुले यी तीनै ठाउँको जग्गाको समस्या समाधान गर्न सकेनन या चाहेनन ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेका माधवकुमार नेपालले सो क्षेत्रबाट चुनाव जितेर छोडेपछि त्यहाँ पुनः निर्वाचन हुँदा नेपाली काँंग्रेसका दिपक कुँईकेलले सो क्षेत्रमा बाजी मारेका थिए । मंसीर २१ मा हुने निर्वाचनमा पनि वामगठवन्धनबाट नेपाल र नेपाली काग्रेसबाट फेरी कुँइकेल नै प्रतिनिधि सभा सदस्यको लागि भिड्दैछन । 
साविक काठमाडौं महानगरपालिका वडा नं ३५ र हाल वडा नं ३२ का धेरै मतदाताको परिवार करीव तीन दशकदेखि तीनकुनेभित्रको जग्गाको उचित मुआब्जा नपाएर पीडित छन । चलनचल्तीको मुल्यअनुसार सो ठाउँको जग्गाको मुल्य प्रतिआना एकदेखि डेढकरोड रुपैयाँ चलेको नेपाली काँग्रेसका स्थानीय नेता अर्जुन पराजुली बताउँछन । 
‘आनाको ५÷१० लाख रुपैया चलेको समयमा सरकारले तत्कालै स्थानीय जग्गाधनीलाई मुआब्जा दिएर समस्या समाधान गरेको भए अहिलेसम्म दुबैपक्षलाई फाइदा पुग्थ्यो’ पराजुली भन्छन ।
त्यसैगरि नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको त्रिभुवन विमानस्थल धावनमार्ग चौडा गर्ने निहुँमा धावनमार्गको पुर्वतर्फको घरजग्गा दोस्रोपटक पनि सरकारले अधिग्रहणको लागि जग्गा रोक्का राखिदिएको छ । सरकारले घरजग्गाधनीलाई समयमै चलनचल्तीको मुल्यअनुसार उचित मुआब्जा नदिनु अर्काे समस्या बनेको छ ।
करीव १० वर्षअघि पहिलोपटक १ सय ६५ घर र करीव ३ सय रोपनी जग्गा अधिग्रहण गरिसकेता पनि केही वर्षपहिले फेरी अधिग्रहणको लागि स्थानीयको जग्गा रोक्का राखेको हो । 
त्यतिमात्रै नभई जडिबुटीदेखि पेप्सीकोला चोकको पुर्वतर्फ र मनोहरा खोलाको पश्चिमतर्फको करीव २ हजार रोपनी जग्गा अधिग्रहण गरि त्यसमा जग्गा विकास आयोजनाको काम शुरु भएको १५ वर्ष भईसक्दा पनि काम अघि बढ्न सकेको छैन ।
त्यसो त स्थानीयको जग्गा मनोहरा खोलाको पुर्वतर्फ पनि अर्र्काेे करीव २ हजार रोपनी सोही मुद्धामा अड्केको छ, जुन भक्तपुरको २ नं निर्वाचन क्षेत्रमा पर्छ । 
ती जग्गामा विभिन्न राजनैतिक दलले आफ्ना कार्यकर्तालाई सुकुम्वासीको नाउँमा अस्थायी टहरा बनाएर राख्दा सहयोग गरेपछि १५ वर्षदेखि जग्गा एकिकरणको काम नक्सामा मात्रै सीमित रहेको छ । जसको कारण कोटेश्वरका जग्गाधनीले हालसम्म आफ्नो जग्गा वेचविखन गर्न, बैंकमा राख्न र खेतीपाती गर्न पाएका छैनन । करोडौं मुल्य बराबरको जग्गा मालिक भएतापनि स्थानीय मतदाता सुकुम्वासी सरह वाँच्न विवश छन् । 
‘जुन दलका उम्मेदवारले लामो समयदेखि विवादमा रहेका जग्गाको समस्या समाधान गर्ने रोक्का गरिएको जग्गा चलनचल्तीको मुल्यमा अधिग्रहण गर्ने लिखीत प्रतिवद्धता गर्छन, उसलाई नै भोट हाल्ने हो’ स्थानीय पीडित जग्गाधनी सुदन बोहोराले भने । 
काठमाडौं महानगरको ९ र ३२, कागेश्वरी मनोहराको ४ देखि ९ नं वडा र शंखरापुर नगरपालिकाको सबै वडा २ नं निर्वाचन क्षेत्रमा पर्छ ।