काठमाडौं, २१ कार्तिक । वाम गठबन्धनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । गठबन्धनले काठमाडौंको तीनकुनेमा रहेको एउटा व्याङ्क्वेटमा दिउँसो १ औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।घोषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको आफ्नो गाउँ आफै बनाऔँ, नेपालको पानी जनताको लगानी, घरघरमा बिजुली जनजनमा सेयर जस्ता नारालाई समावेश गरिएको छ ।
आगामी प्रदेश र प्रतिनिधिसभा चुनावलाई लक्षित गरेर तयार गरेको संयुक्त घोषणा पत्रमा यी दुई दलले नेपाललाई पाँच वर्षभित्र गरिबीमुक्त बनाउने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पनि पाँच लाख रुपैयाँ पुर्याउने दाबी गरेका छन् ।
अहिले प्रतिव्यक्ति आय ८० हजार हाराहारीमा छ । अबको २५ वर्ष अर्थात २०९९ सालसम्ममा नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्याउने गरी आर्थिक र विकासका योजना अगाडि बढाउने लक्ष्य लिएको एमाले र माओवादीको घोषणापत्रमा उल्लेख छ ।
भारतसँग गरिएको असमान सन्धि र सम्झौताको पुनरावलोकन गर्ने प्रतिबद्धता पनि यी दुई दलले जनाएका छन् ।
यस्तै वाम गठबन्धनले समृद्धिका कार्यक्रममा भूमिको वैज्ञानिक व्यवस्थापन, आधुनिक कृषिलाई जोड दिने बताएका छन् । कृषिभूमि अतिक्रमण गर्न नपाइने र कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गरिने उल्लेख छ । साथै दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउँदै पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्याउने उल्लेख छ ।
नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको उपस्थितिमा मंगलबार घोषणापत्र सार्वजनिक गरिने जानकारी दिनुभयो ।
Comments