राजनीति

नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसले आगामी चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

पार्टी कार्यालय सानेपामा सार्वजनिक समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले प्रजातन्त्रमाथि खतरा देखिएको भन्दै प्रजातन्त्र जोगाउन पनि कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।
“७ सालको राणा शासन हटाइयो, पञ्चायत हटाइयो, राजतन्त्र पनि हटाइयो । अब समृद्धिको नेतृत्व पनि कांग्रेसले नै गर्छ,” सभापति देउवाले घोषणापत्र सार्वजनिक गर्दै भने, “प्रजातन्त्र जोगाउन पनि कांग्रेसलाई मतदान गर्नैपर्छ ।”

उनले कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र खतरामा रहेको बताउँदै भने, “प्रजातन्त्रमाथि खतरा छ । कम्युनिष्ट गठबन्धनले प्रजातन्त्र धरापमा पार्न खोज्दैछन् । प्रजातन्त्रले नै जनतालाई सम्पूर्ण अधिकार दिएको छ । कम्युनिष्ट शासनमा अन्याय भयो भनेर मन लागेका बेला रुनसमेत पाइँदैन । ममाथि अन्याय भयो भन्न पनि पाइँदैन । देशलाई कम्युनिष्ट अधिनायकवादतर्फ लैजान खोज्दैछन् ।” कार्यक्रममा नेता पौडेलले कांग्रेसले तयार पारेको घोषणापत्रले समृद्धिको मार्गचित्र कोरेको बताए  त्यसका लागि पनि कांग्रेसकै नेतृत्व आवश्यक भएको उनको भनाई थियो ।
महामन्त्री कोइरालाले कम्युनिष्ट एक ठाउँमा उभिएको बताउँदै अब कांग्रेस पनि एकवद्ध भएर चुनावमा जानुपर्ने बताए ।