राजनीति

बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान

काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार पठाइएको छ । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल मंगलबार पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।  सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए । उनलाई ललितपुुरको सातदोबाटोबाट पक्राउ गरिएको हो।
हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई  उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो । ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो ।
पछिल्लोपटक एकसातादेखि सादा पोशाकका प्रहरी ढुंगेलको खोजीमा थिए । ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए । ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।

ढुंगेलको प्रतिक्रिया
पक्राउपछि अदालतबाट निस्कदा निस्कदै मिडियाले ढुंगेलको प्रतिक्रिया लिन खोजेको भए पनि प्रहरीले अवरोध गरेर बोल्न नदिएपछि कारागार पुगरेका उनले मुख खोलेका छन् । 
ढुंगेलले अदालत पुगेपछि आफ्नो वकील मार्फत प्रतिक्रिया जनाएका छन् । संकेतै सकेतमा उनले ठूला नेताहरुमाथि हमला गरेका छन् । अधिवक्ता लक्ष्मण बरालका अनुसार सदरखोरमा पुग्नासाथ बालकृष्ण ढुंगेलले ‘भैंसीको छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरिएको’ प्रतिक्रिया दिएका हुन् । 
अधिवक्ता लक्ष्मण बरालले यसलाई ‘ठुलालाई छाडेर सानोलाई समातिएको भन्न खोज्नुभएको होला ।’ भनी टिप्पणी गरे । पूर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार स्थित सदरखोरको ‘ख’ ब्लकमा राखिएको छ । ढुंगेलको जेल यात्रा करिब १२ बर्ष ५ महिना २२ दिन हुनेछ । 

 

ढुंगेल पक्राउको स्वागत

इन्सेकले माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरी जेल चलान गरेकोमा स्वागत गरेको छ ।  
 इन्सकले आज एक विज्ञप्तिमार्फत ढुंगेलको  गिरफ्तारीपछि पीडित परिवारले बल्ल निर्धक्कसँग रुन पाएको उल्लेख गर्दै आफूहरुले न्यायका लागि चलाएको  अभियानले ढिलो चाँडो सार्थकता पाउँछ भन्ने प्रमाणित भएको जनाएको छ ।  
विज्ञप्तिमा  भनिएको छ–सरकारको यो कदमको हार्दिक स्वागत र समर्थन गर्दछौँ । साथै कागतालीको न्याय होइन कि कानुनको शासनको सम्मान गर्दै सबै न्यायिक निर्णय र प्रक्रियाको परिपालना गर्न पनि जोडदार माग गर्दछौँ । ’