काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ ।
“मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,” कांग्रेसले आफ्नो घोषणापत्रमा भनेको छ, “मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु¥याएको छ । संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।”
त्यसैगरी कम्युनिष्ट गठबन्धनले संविधान संशोधन गरेर नेपालमा नयाँ द्वन्द्व सिर्जना गर्न खोजेको आरोप छ । “अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा एमाले र माओवादी केन्द्र कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन् ।
Comments