काठमाडौं, ९ कार्तिक ।
राष्ट्रपतिको सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिको सन्देश
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिनुहुँदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।
शुभकामना सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै अनेक संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाएको बताउनुभएको छ ।
प्रधानमन्त्रीको सन्देश
प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा स्वनदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै प्रम देउवाले छठ प्रेस, स्नेह र समाजिक सद्भाव बोकेको नेपालीहरुको महान चाड भएको बताउँदै उहाँले यो पर्व तराईमा मात्र नभएर हिमाल, पहाड र विधि सांस्कृतिक धनी सबै नेपालीले अपनत्व गरेको पर्वको रुपमा विकसित भएको उल्लेख गर्नुभएको छ ।
यस पर्वलाई सम्पूर्ण नेपालीबीचको भावनात्मक एकता र सहकार्यको समारात्मक सन्देश दिने पर्वको रुपमा लिएको बताउँदै प्रम देउवाले छठ पर्वले नेपालीबीचको आपसी सम्बन्धलाई झनै मजबूत बनाउँदै राष्ट्रिय समृद्धि र एकतामा बल पु¥याउने कार्य गर्न सबैलाई प्रेरणा देओस् भन्ने कामनासमेत गर्नुभएको छ ।
“देश लोकतन्त्रको उत्सवको रुपमा रहेको निर्वाचनतर्फ उन्मुख भएको छ । निर्वाचन लोकतन्त्रको जगलाई दरिलो बनाउँदै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हासिल गर्ने हाम्रो चाहनालाई मतपत्रमार्फत अभिव्यक्ति गर्ने सुअवसर पनि हो । यसैले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक उत्सवलाई सफल बनाउन आह्वान गर्दछु”–शुभकामना सन्देशमा भनिएको छ ।
एमाले अध्यक्ष ओलीको सन्देश
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यको उपासना गरेर मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा भातृत्व, भगिनित्व, एकता र आत्मियताका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज शुभकामना सन्देश दिँदै उहाँले नेपालमा राजनीतिक संघर्षको युग सकिएकाले अबको यात्रा विकास र समृद्धितर्फको हुने उल्लेख छ । नेपालीको समृद्धिको चाहना पूरा गर्न देशको राजनीति स्थिर हुनपर्ने बताउँदै नेपालीको यही चाहनालाई आत्मसात गर्दै हामीले बाम गठन्धनको अभियान सुरु गरेको उल्लेख गर्नुभएको छ ।
यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विविध जाति, भाषा, चाडपर्व र परम्परा रहेको हाम्रो देशमा यस प्रकारका पर्वले आपसी प्रेम, सदभाव र मित्रता बढाउँदै सामाजिक एवम राष्ट्रिय एकतालाई बलियो बनाउनसमेत प्रेरणा दिने बताउनुभएको छ ।
Comments