राजनीति

गोरखाका ६८ मतदान स्थल अतिसंवेदनशील

गोरखा, ७ कार्तिक । मंसिर १० गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखाको ६८ वटा मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील पहिचान भएको छ। १३३ मतदान स्थल संवेदनशील र १२ मतदान स्थल सामान्य प्रकृतिको रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए।
चारसंहिता उल्लंघन हुँदाका चुनौती, निर्वाचन तथा संविधान विरोधी तत्वहरुको चलखेल, विकट भूगोल हुँदा मतपेटिका तथा मतदानका लागि आवश्यक सामग्री ढुवानीमा चुनौती, छिमेकी जिल्ला तनहुँ र चितवनमा दोस्रो चरणमा निर्वाचन हुने हुँदा नाकाबाट अनावश्यक युवाहरु आउने, अवैध हातहतियार नियन्त्रणमा चुनौती, मतदातालाई सन्त्रास फैलाउन सक्ने जस्ता चुनौती रहेको प्रजिअ बस्नेतले बताए।
सुरक्षा चुनौतीलाई आधार मानेर अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदान स्थल वर्गीकरण गरिएको हो। उमेद्वारहरुलाई आचारसंहिताको पूर्ण कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले आग्रह गरे। हेवीवेट भएका नेताहरु गोरखामा चुनाव लडेकाले झन् सुरक्षा चुनौती बढेको छ। बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र चीनकाजी श्रेष्ठ दुई वटा क्षेत्र रहेको गोरखामा चुनावी मैदानमा छन्।