राजनीति

नुवाकोटमा ५७ जनाको उम्मेदवारी, को को उत्रिए मैदानमा ?

नुवाकोट, ६ कार्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागी नुवाकोटमा ५७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।  नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको बामगठबन्धन लगायतका राजनीतिक दल सहित स्वतन्त्र उम्मेदवार गरी ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधिसभा सदस्यको लागी २४ जना र प्रदेशसभा सदस्यको लागी ३३ जनाले उम्मेदवारी दिएका छन् ।
दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मुख्य शक्तिको रुपमा रहेका दुवै गठबन्धनका प्रभावशाली नेताहरुले उम्मेदवारी दर्ता गराउदै आफ्नौ जीत सुनिश्चित रहेको दाबी रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा काँग्रेसबाट केन्द्रीय सदस्य डाक्टर रामशरण महत र बामगठबन्धनबाट माओवादीका स्थायी समिति सदस्य हितबहादुर तामाङले उम्मेदवारी दिएका छन् । यस्तै, प्रदेशतर्फ प्रतिनिधिसभा सदस्य क्षेत्र नंं १ मा काँग्रेसबाट जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ्ग, बामगठबन्धनबाट माओवादीका राधिका तामाङले उम्मेदवार दर्ता गराएका छन् । प्रदेश नंं २ तर्फ काँग्रेसबाट रमेशकुमार महत र बामगठबन्धनबाट एमालेका स्कुल विभाग प्रमुख बद्री मैनालीले उम्मेदवारी दिएका छन् ।
यस्तै, प्रतिधिनिधिसभा सदस्य क्षेत्र नं. २ मा काँग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र बामगठबन्धनको तर्फबाट एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले उम्मेदवारी दिएका छन् । प्रदेशतर्फ क्षेत्र नंं. १ बाट काँग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसी र बामगठबन्धनबाट एमालेका विदेश विभाग सदस्य केशब पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश क्षेत्र नं. २ बाट काँग्रेस क्षेत्रीय सभापति जगतबहादुर तामाङ र बामगठबन्धनबाट माओवादी जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले उम्मेदवारी दिएका छन् ।
एमाले र माओवादी केन्द्रबीचको  चुनवी तालमेल गरेकाले जिल्लाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा आधा÷आधा सिट हुनेगरी उम्मेदवारी दिएका छन् । राप्रपा कमल थापा लगायतका पार्टीसंग तालमेल गरेको काँग्रेसले सबै पदमा आफ्नै उम्मेदवार उठाएको छ ।
आसन्न निर्वाचनको लागी बामगठबन्धनबीचको एकताले असन्तुष्ट एमाले, माओवादी तथा काँग्रेसका नेताहरु मध्ये केहीले स्वतन्त्र उम्मेदवारी दिएपनि उनीहरुको प्रभाव र सांगठानिक हैसियत कमजोर रहेकाले खासै प्रभाव नपर्ने देखिएको छ ।