राजनीति

३७ सीटका लागि ३२ जिल्लामा मनोनयन आज

काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि प्रतिनिधिसभातर्फ ३२ जिल्लाका ३७ सीटमा आज मनोनयनपत्र दर्ता हुँदैछ ।  मनोनयन दर्ताको पूर्वसन्ध्यामा प्रमुख दलहरुले उम्मदेवारको सूची तयार पारेका छन् । 

पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ सीटका लागि आइतबार मनोनयन दर्ता हुनेछ भने प्रदेशसभातर्फ ७४ सीटका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचन आयोगले भाइटीकाको भोलिपल्टै मनोनयन दर्ताको समय निर्धारण गरेका कारण भाइटीका दिनमा समेत दलका नेताहरु टिकट बाँफाँटमा खटिएका थिए । पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा हुनेछ । 

मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्नेछ । उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ ।  पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाता रहेका छन् । पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ ।