काठमाडौं, ३० असोज । नेपाली काँग्रेसबाटै छुट्टिएर काँग्रेसका तत्कालिन नेता विजयकुमार गच्छदारको नेतृत्वमा गठन भएको नेपाल लोकतान्त्रिक फोरम १० बर्षपछि पुन नेपाली काँग्रेसमै गााभिएको छ। गच्छदारको नेतृत्वमा गठन भएको पार्टी पटकपटक फुट्दै र जुट्दै आएपनि अब भने नेपाली काँग्रेसमै विलय भएको हो।
काँग्रेससँग पार्टी एकिकरण पछि आफ्नो मन्तव्य राख्दै गच्छदारले १० बर्षअघी पार्टी छोडेर जाँदाको दिन सम्झिए। उनले पितातुल्य नेता तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आमातुल्य नोना कोइरालालाई सम्झेर आँसु झारे।
छोराझै माया गरेपनि तत्कालिन राजनीतिक परिस्थितिमा आफू पार्टी छोड्नुपरेको घटना पनि उनले कार्यक्रममा सुनाए। नजाउँ भन्दा भन्दै गएको स्मरण गर्दै उनी भावुक भए। उनले साथीहरु अर्जुरनरसिंह केसी र चक्र वास्तोलाले हात समाएर पार्टी नछोड भनेको पनि स्मरण गराए। मन्तव्य राख्न लाग्दा शुरुमै वोल्न गला अवरुद्ध भएका उनले केहि छिन माइकमा वोल्न पनि सकेनन्। केहि पानी खाएर उनले आफ्नो मन्तव्यलाई निरन्तरता दिएका थिए।
लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार, जीतेन्द्र देव सहितका केन्द्रीय उच्च नेतृत्वले काँग्रेसमा सम्मानजनक भुमिका पाउनेछन्। लोकतान्त्रिक फोरमका सबै तहलाई नेपाली काँग्रेसमा समायोजन गर्ने सहमति भएको छ। लोकतान्त्रिक फोरमका नेता योगेन चौधरी सहितका केहि भने अझै एकिकरण प्रक्रियामा असन्तुष्ट रहेको बताइए पनि उनीहरुलाई पनि गच्छदार सहितका नेताहरु पार्टी एकिकरण प्रक्रियामा सहभागि गराउन कसरत गरिरहेका छन्।
आइतवार नै घोषणा गर्ने भनिएको पार्टी एकिकरण रात अवेरसम्म विभिन्न राजनीतिक तथा सांगठनिक विषयम सहमति जुटाउन लागेका कारण हुन सकेको थिएन। निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउन पनि दुबै पार्टीका नेताहरु गृहकार्यमा रहेका कारण पनि आइतबार नै हुने भनिएको एकता घोषणा कार्यक्रम प्रभावित भएको थियो। पार्टी एकिकरणको दस्तावेजमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। देशमा अधिनायकवादको खतरा समेत रहेका अवस्थामा वलियो लोकतान्त्रक शक्ति बनाउने उद्धेश्यका साथ पार्टी एकिकरण गरिएको दस्तावेजमा उल्लेख छ।
पार्टी एकता घोषणा कार्यक्रममा नेपाली काँग्रेसका शिर्ष नेताहरु केन्द्रिय समितिका पदाधिकारी र केन्द्रिय सदस्यहरु र विभिन्न तहका नेता कार्यकर्ताहरु उपस्थित थिए। नेपाल लोकतान्त्रिक फोरमका पनि सिंगो केन्द्रीय समिति र विभिन्न तहका नेताहरु सहभागि थिए।
Comments