काठमाडौं, २३ असोज । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा जाने गरी छलफल अघि बढाएको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
‘सरकारमा जाने विषयमा बैठकले लगभग टुंगो लगाएको छ, पाठकले भने, ‘निर्वाचनमा तालमेल र उम्मेदवार चयनको विषयमा भने छलफल जारी रहेको छ ।’उनले आज दिउँसो बसन्तपुरमा हुने कार्यक्रमपछि बस्ने बैठकले औपचारिक निर्णय बाहिर ल्याउने बताए । राप्रपाले आज बसन्तपुरमा नेपाललाई हिन्दुराष्ट्र बनाउने दवाव दिने उद्देश्यले बृहद आमसभाको आयोजना गरेको छ ।
आजको बैठकमा अध्यक्ष कमल थापाले विकसित राजनीतिक अवस्था, पार्टीले लिने रणनीति तथा आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीको रणनीतिका सन्दर्भमा धारणा राखेका थिए । उनले सरकारमा सहभागि हुन प्रस्ताव आएको भन्दै पार्टीको राय समेत माग गरेका थिए ।
Comments