राजनीति

निर्वाचनसम्म माओवादीले सरकार नछाड्ने

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाड्ने भएको छ। माओवादी पोलिटब्यूरो बैठकले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न नभएसम्म सरकार नछाडने निर्णय गरेको हो।
निर्वाचन घोषणा भइसकेको अवस्था र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनसम्म सरकारमै रहन गरेको आग्रहका कारण पोलिटब्युरोले सरकारबाट बाहिर नआउने निर्णय गरेको  माओवादी नेता रामनारायण विडारीले बताए।
निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गर्न सरकारमा सहभागी भएकाले सोही अनुसार अघि बढ्ने निर्णय भएको पार्टीका नेता वर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले संविधान कार्यान्वयन र चुनाव सम्पन्न गर्ने दायित्व पूरा गर्न केन्द्रित हुन सत्तारुढ कांग्रेसको समेत ध्यानाकर्षण गराएको छ।
पोलिटब्युरो बैठकले नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति इमान्दारीका साथ पालना गर्ने निर्णय पनि गरेको छ । वाम एकताको वैचारिक आधार तय गर्न आवश्यक बहस अघि बढाउने निर्णय लिइएको नेता विडारीले बताए।
सातबुँदेको अनुमोदन
माओवादी केन्द्र र नेकपा एमाले दुवै दलले एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने भनी गरेको सातबुँदे सहमतिलाई अनुमोदन गराएका छन् । माओवादीले पोलिटब्युरोबाट अनुमोदन गरेको हो भने एमालेले स्थायी समिति बैठकबाट गरेको हो।
एमाले पार्टी कार्यालय धुम्वाराहीमा भएको बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको हो । स्थायी समिति बैठकले वाम गठबन्धनका लागि भएको सातबुँदे सहमतिलाई पनि सर्वसम्मत रुपमा अुनमोदन गरेको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । वाम एकीकरणपछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले आगामी निर्वाचनमा सशक्त रुपमा एक भएर जान कार्यकर्तालाई आग्रह समेत गरेको छ ।
राष्ट्रिय सभा गृहमा भएको माओवादीको बैठकले एकीकरण सहमतिपछि बाहिर रहेका वामपन्थी दलहरुलाई एकीकृत गर्न पहल गर्ने निर्णय समेत गरेको छ ।