राजनीति

निर्वाचन जित्न सक्नेलाई मात्रै टिकट : कांग्रेस

काठमाडाैं, २० असाेज ।   सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरुले गुटको आधारमा नभई लोकप्रिय नेतालाई टिकट दिन सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  बैठकमा आगामी मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले अपनाउने रणनीतिबारे छलफल चलिरहेको नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा आगामी निर्वाचनका लागि लोकतान्त्रिक दलहरुसँगको तालमेल र तालमेल निर्माणमा देखिएका चुनौतिबारे पनि छलफल हुने बताइएको छ । 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवार छनोटका लागि मापदण्ड र विधिबारे पनि निर्णय हुने कांग्रेसले जनाएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश सदस्यले प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका उमेदवार छनोट गर्दा गुटको आधारमा नभएर चुनाव जित्न सक्नेलाई उम्मेद्वार बनाउनुपर्ने धारणा राखेका थिए । आज बसेको केन्द्रीय समितिको बैठकमा पनि यस्तै धारणा राखेका छन् । 

बैठक चार बजे सम्मलाई स्थगित भएको छ । चार बजेपछि पुन बैठक बस्ने नेताहरुले बताएका छन् । आजको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले हालै गठन भएको लोकतान्त्रिक गठबन्धनमा लोकतन्त्र र प्रजातन्त्रका पक्षधर सवै पार्टीलाई समेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । 

बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले लोकतान्त्रक पद्धतिको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने पनि बताएको नेता दिलेन्द्र बडुले जानकारी दिए । त्यस्तै आजको बैठकमा आगामी निर्वाचनमा टिकट वितरण गर्दा गुटबन्दीका आधारमा नभई पार्टीप्रति प्रतिबद्ध, लोकप्रिय र जित्नेलाई दिनुपर्नेमा पनि नेताहरुले जोड दिएका छन् ।

त्यस्तै समानुपातिकतर्फ पुन दोहोर्याएर टिकट नदिने विषयमा पनि छलफल भएको छ । बैठकमा नेता बडुले माओवादीलाई सरकारबाट बर्खास्त गर्ने या नगर्ने भन्ने विषयमा कुनै छलफल नभएको पनि बताए ।