काठमाडौं, २० असोज । सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसले नयाँ राजनीतिक परिस्थितबारे छलफल गर्न शुक्रबार पार्टी केन्द्रीय समितिकै बैठक बस्दैछ । दुई दिनसम्म बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रीय समितिकै बैठक बोलाएको हो ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमति गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो ।
विहीबार सम्पन्न पार्टी केन्द्रिय कार्य सम्पादन समिति बैठकले ६ दलबीच लोकतान्त्रिक गठबन्धन बनाउन गरेको सहमतिलाई पनि केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने निर्णय गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उठाउने उम्मेदवारको मापदण्ड पनि केन्द्रिय समिति बैठकले तय गर्ने पनि स्पष्ट पारे ।
काँग्रेसले विभिन्न ६ दलबीच लोकतान्त्रिक गठबन्धन कायम गरी निवाचनमा जाने निर्णय गरिसकेको छ । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
कार्यदलले पूर्णता पायो
यसैबीच, ६ पार्टीबाट सात सदस्यीय कार्यदल गठन गर्ने बुधबार भएको सहमतिअनुसार गठबन्धनका विविध पक्षबारे छलफल सुरु भएको थियो । बिहीबार औपचारिक बैठक बस्न नसके पनि उम्मेदवारी चयन, घोषणापत्र लेखनलगायका विषयमा छलफल भएको कार्यदल सदस्य विक्रम पाण्डेले जानकारी दिए ।
कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमबाट रामसहाय यादव, नेपाल फोरम लोकतान्त्रिकबाट गोपाल दहित, राप्रपा प्रजातान्त्रिकबाट बुद्धिमान तामाङ र राप्रपा नेपालबाट बिक्रम पाण्डे रहेका छन् ।
लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आह्वान
कांग्रेसले वामपन्थी गठबन्धनमा सहभागी नभएका दलहरुलाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन आह्वान गरेको छ । केन्द्रिय कार्य सम्पादन समितिको बैठकले दलहरुलाई लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन अपिल गरेको हो ।
Comments