काठमाडौं, १९ असोज । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन सहमत ६ दलले बिहीबारदेखि थप छलफल अघि बढाउने भएका छन् । कार्यदलमा बस्ने सदस्यको नाम टुंगो लगाएर ९ बजे कार्यदलको बैठक बस्ने तयारी रहेको नेताहरुले बताएका छन् । बुधबार बसेको ६ दलको बैठकले कांगेसबाट दुईजना र अरु दलबाट एक एकजना गरी सात सदस्यीय कार्यदल बनाउने सहमति गरेपनि कार्यदलको सदस्यको नाम टुंगो लागेको छैन । नाम टुंग्याएर थप रणनीति बनाउने विषयमा छलफल थालिने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिनुभयो ।
गठबन्धनको टुंगो लागिसकेपछि सरकार पुनर्गठनका बारेमा पनि छलफल गर्ने तयारी रहेको दलहरुले बताएका छन् । कांग्रेसको नेतृत्वमा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धन बनाएर आउँदो मंसिरमा हुने चुनावमा जाने निर्णय गरेका हुन् । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकता घोषणा गर्ने भएपछि कांग्रेसले पनि यस्तो पहल थालेको हो ।
Comments