राजनीति

चुनावी तालमेल र पार्टी एक बनाउने ६ बुँदे सहमति

काठमाडौं, १८ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीका बीचमा आगामी चुनाव लगत्तै एउटै कम्युनिष्ट पार्टी बनाउने विषयमा ६ बुँदे  सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । यसका लागि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । समितिमा एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहनेछन् । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड रहने समझदारी भएको छ । पार्टी एकताको खाका र कार्ययोजना बनाउनुका साथै सहमति हुन बाँकी विषयहरु टुंग्याउने जिम्मेवारी पाएको यो समितिले सहमतिका आधारमा निर्णय गर्नेछ । साथै पार्टीको नीति कार्यक्रम घोषणापत्र बनाउन दस्ताबेज मस्यौदा समिति बनाउने सहमति भएको छ । 
तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन आह्वान पनि गरेका छन् । आज भएको सहमति घोषणामा तीनओटै राजनीतिक दलका शीर्ष नेताले सहमति कुनै पार्टी विशेषप्रति लक्षित नभएको स्पष्ट पारेका छन । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भुगोल, भाषा र जातीका आधारमा द्वन्द्वका भड्काउने विजय हासिल गरेको बताउनुभयो । उहाँले मुलुकमा शान्ति कायम गरी समृद्धिको दिशामा अघि बढ्न चाहेको बताउनुभयो । 
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावका लागि एकिकरण प्रयास भएको भन्दै कसैका विरुद्ध गठबन्धन नभएको बताउनुभयो । उहाँले ३ पार्टीका बीचमा भएको सहमति काँग्रेसविरुद्ध नभएको समेत बताउनुभयो । कार्यक्रममा नयाँ शत्तिः पार्टी नेपालका संयोजक डा. वावुराम भट्टराईले आर्थिक समृद्धिका लागि पार्टी एकिकरणको प्रयास भएको बताउनुभयो । उहाँले समाजवादतर्फ देशलाई लैजान हिमाल, पहाड र तराईलाई एकतावद्ध गर्न एकिकरण महत्वपुर्ण कदम भएको बताउनुभयो । 
सहमतिअनुसार नयाँ शक्ति पार्टीले आगामी चुनावमा सूर्य चिन्हकै प्रयोग गर्नेछ भने माओवादी केन्द्रले भने आफ्नै चुनावी चिन्ह लिएर चुनावमा जानेछन् । सरकारमा रहेको माओवादी र प्रतिपक्षमा रहेको एमालेबीच आगामी चुनावमा सहकार्य गर्ने सहमति भएपनि वर्तमान सरकारको गठबन्धनका के हुने भन्ने विषयमा भने २ पार्टी मौन छन् । बीचमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको पूर्वसंध्यामा एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । तीन दलले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने सहमति पनि गरेका छन् । साथै चुनावमा सहकार्य गर्न लोकतान्त्रिक र प्रगतिशील शक्तिलाई आह्वान गरेका छन् ।