खेलकुद

शरदको शतकमा नेपालको लगातार तेस्रो जित

काठमाडौं, ८ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि भारतको चेन्नईमा बिशेष प्रशिक्षण गरिरहेका नेपालले तेस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । 
शनिबार भएको तेस्रो अभ्यास खेलमा नेपालले तमिलनाडु ए लाई १४७ रनले पराजित गरेको हो । मुरुगप्पा क्रिकेट मैदानमा नेपालले दिएको ३१२ रनको लक्ष्य पछ्याएको तमिलनाडु ४५ ओभर ३ बलमा अलआउट हुँदै १६४ रनमा समेटियो । अभ्यास खेलमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले मेलापुरे रिक्रियसन र डिन्डिगुल ड्रयागन्सलाई पराजित गरेको थियो । बिशेष प्रशिक्षणको लागि भारत गएको नेपाली टोलीले अब एक अभ्यास खेल खेल्ने छन् । 
तमिलनाडुका लागि आर सथ्यनारायणले ६७ रनको अर्धशतकिय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन । नेपाली बलर हाबी भएको खेलमा तमिलनाडुका अन्य ब्याट्सम्यान सस्तैमा पेभेलियन फर्किएका थिए । सथ्यनारायण बाहेक तमिलनाडुका बर्थले २२ , डी अन्चितले १९ तथा निशान्त १३ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ तथा करण केसी र सुशील कँडेलले समान २ – २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ५ विकेट गुमाएर ३११ रनको उच्च योगफल तयार गरेको थियो ।
नेपालको जितमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले शतकीय पारी खेल्दा सागर पुन र दिपेन्द्र सिंह एरीको अर्धशतक बनाए । तमिलनाडुविरुद्ध उत्कृष्ट सुरुवात गरेको नेपालको लागि शरदले १०० रन बनाए । तेस्रो विकेटका रुपमा आकाशको बलमा क्याच आउट भएका शरदले ११९ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए । त्यस्तै ओपनर सागरले ९९ बलमा ७७ रन बनाए भने चौथो नम्बरमा ब्याटिङ गर्न आएर दिपेन्द्रले ७३ रन बनाए । 
यू – १९ टोलीका कप्तानसमेत रहेका दिपेन्द्रले बिष्फोटक ब्याटिङ गर्दै ३७ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । नेपालको उच्च स्कोरमा ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ले ३१ रन बनाए । कप्तान पारस खड्कालाई आराम दिएर ज्ञानेन्द्रलाई कप्तानी दिइएको खेलमा उनले ३७ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । 
यस्तै सोमपाल कामी १० रनमा अविजित रहदा किपर ब्याट्सम्यान बिनोद भण्डारीले ७ रन बनाए । तमिलनाडुका भिगनेस रावले दुई तथा आकाश, जपनित र सथ्यनारायणले समान एक एक विकेट लिए । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले हङकङसँग उसैको मैदानमा आगामी अक्टोबर १३ र १५ मा खेल खेल्ने छ । अन्तिम ४ मा प्रवेश गर्नका लागि नेपाललाई हङकङसँगको दुबै खेल जित्नै पर्ने हुन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ । त्यस्तै, हङकङ चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजयका साथ ८ अंक छ । त्यस्तै, समान १० खेलबाट ५ खेलमा जित, ४ खेलमा पराजित र एक खेलमा बराबरी भएको हङकङको ११ अंक छ । नेपालले च्याम्पियनसिपको अन्तिम खेलमा युएईसँग खेल्नेछ ।