खेलकुद

हङकङविरुद्धको खेलका लागि नेपाली टोली अभ्यासमा

काठमाडौं, ३ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष प्रशिक्षणको लागि अहिले भारतको चेन्नईमा छ ।  कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोली आइतबार चेन्नेइ प्रस्थान गरेको थियो । यस्तै नेपालले सोमबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । 
त्यस्तै ४ खेलाडीलाई वैकल्पिकको रुपमा राखिएको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले बुधबार नेपाली क्रिकेट टिमका खेलाडी छनोट गरेका हुन् । 
भारतमा रहेका नेपाली टोलीले सोमबार पहिलो दिनको प्रशिक्षण समेत गरेको छ । नेपालले सोमबार सामान्य अभ्यास गरेको हो । नेपालले मंगलबार तमिलनाडु प्रिमियर लिग क्लब दिन्दीगुल ड्रागनसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।  आगामी सेप्टेम्बर २७ मा स्वदेश फर्कने नेपाली टोलीले भारतका स्थानीय क्लबहरुसँग थप तीन अभ्यास खेल खेल्नेछन् ।