सप्तरी, २३ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावका लागि उम्मेदवारी मनोनयन सकिएलगत्तै स्थानीय प्रशासन चुनावी सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि सप्तरीका २ सय ९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ ।
तेस्रो चरणको स्थानीय तह चुनावका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो । अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् ।
जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताए । जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरको चौक चौकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी चनाखो रहन प्रशासनले निर्देशन दिएको छ । त्यस्तै चुनाव बहिष्कारको पक्षमा रहेका सिके राउत र जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका संयोजक जयकृष्ण गोइत समुहको गतिविधिलाई सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ ।
जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको छ । सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् ।
Comments