काठमाडौं, १९ भदौ । व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विधेयकमाथि छलफल हुँदैछ । संशोधनमाथिको छलफल टुंग्याएर संसदमा पठाउने तयारी गरेको भनिएपनि लामो समयदेखि विधेयक समितिमै अड्किएको छ ।
झण्डै तीन हप्तापछि केहीदिन अघि बसेको बैठकमा पनि संशोधनको विषयमा कांग्रेसका सांसदहरुबिच एकमत नहुँदा विधेयक टुंगो लाग्न सकेको थिएन । कांग्रेसका केही सांसदले भ्रष्टाचारमा दोषी ठहर भइ कारबाही भोगिसकेका ब्यक्तिले पनि चुनावमा उठ्न पाउनुपर्ने भन्दै संशोधन दर्ता गरेका छन् । यस विषयमा कांगे्रसभित्रै पनि विवाद देखिएको छ ।
सभापति शेरबहादुर देउवा पक्षले यो संशोधन पारित गर्नुपर्ने बताउँदै आएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भ्रष्टाचारी ठहर भइसकेका व्यक्तिलाई चुनावमा उठ्न दिने कुरा मान्य नहुने भएकाले संशोधन प्रस्ताव दर्ता गरेका सांसदले त्यसलाई फिर्ता लिनुपर्ने माग गर्दै आएको छ ।
वरिष्ठ नेता पौडेल पक्षले संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने तयारी गरेको छ । राज्य व्यवस्था समितिले कांग्रेसभित्रको विवाद नमिले मतदानबाट भएपनि विधेयक टुंगोमा पुर्याएर संसदमा पठाउने तयारी गरेको जनाएको छ ।
Comments