काठमाडौं, १५ भदौ । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते दुई चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि बुधबारबाट आचार संहिता लागू गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि आचार संहिता लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचार संहिता बुधबारदेखि नै लागू गर्ने निर्णय गरिएको आयोगका आयुक्त सुधीरकुमार शाहले जानकारी दिनुभयो । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह र त्यसका कर्मचारी, सार्वजनिक संस्था, सरकारी तथा अर्ध सरकारी संस्था, सुरक्षा निकायका सबै अंग, निर्वाचन कार्यमा संलग्न सबैमा निर्वाचन आचारसंहिता लागू हुने पनि स्पष्ट पारेको छ ।
आयोगका आयुक्त शाहले उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिदेखि आचारसंहिता लागू हुने पनि उल्लेख गर्नु भयो । निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ ।
Comments