काठमाडौं, ५ भदौ । नेपाल पत्रकार महासङ्घको नेतृत्वका लागि आज मतदान हुने भएको छ । आईतबारबाट राजधानीमा सुरु भएको २५ औं महाधिवेशनले ४७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । बिहान सुरु हुने मतदानका लागि आइतबार नै उम्मेदवारी दर्ता भएका छन् । केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार ४७ पदका लागि १२१ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये तीन जनाले फिर्ता लिएको र एक जनाको मापदण्ड नपुगेकाले ११७ जना कायम भएको थियो ।
अध्यक्ष पदका लागि गोविन्द आचार्य, तीर्थ कोइराला, इन्द्रबहादुर राउत, उजिर मगर र भावना विद्रोहीको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्ष खुलाको एक पदका लागि विपुल पोख्रेल, मात्रिका पौडेल र दीपक पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै महासचिव एक पदका लागि रमेश विष्ट र बालकृष्ण बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ ।
महिला सचिवका लागि लक्ष्मी पुन र सुष्मा पौडेलले उम्मेदवारी दिनुभएको छ । उपाध्यक्ष समावेशी एक पदका लागि दिलीप थापामगर र महेश दासको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदका लागि खगेन्द्र पन्त र राजेश मिश्रको उम्मेदवारी परेको छ ।
Comments