राजनीति

संशोधन विधेयक पास हुन्छः सत्तारुढ दल

काठमाडौं, २८ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच संविधान संशोधन प्रस्ताव आइतबारभित्र संसदमा निर्णयार्थ पेस गर्न सहमति जनाएका छन्  । नयाँ संविधानप्रति असहमति जनाउँदै आएको राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलसँगको वार्ताक्रममा उनीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । वार्तामा भएको सहमति अनुरूप अघि बढ्ने वातावरण बनेमा मंगलबार बस्ने ससंद् बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार नै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्ने प्रतिबद्धता जनाएका छन् ।  निर्णयार्थ पेस गरिने संविधान संशोधन जसरी पनि पास हुने उनीहरुले विश्वास राखेका छन् । सत्तारुढ दलले पटक पटक आश्वासन दिएको भए पनि यस पटक संशोधन प्रस्ताव तत्कालै निर्णयार्थ पेस हुनेमा राजपा विश्वस्त रहेको छ । संविधान संशोधन विधेयकलगायत कुनै पनि विधेयकसम्बन्धी कारबाही अघि बढाउने अधिकार सभामुख हुन्छ । सभामुखले मंगलबारका लागि संसद् बैठक बोलाएकी छिन् ।
मधेस आन्दोलनमा ज्यान गुमाएकामध्ये बाँकी रहेकालाई सहिद घोषणा तथा परिवारजनलाई राहत, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउने तथा स्थानीय तहको संख्या बढाउनेजस्ता सर्त सरकारले पूरा गर्नुपर्ने राजपाको भनाइ छ । 
बैठकमा राजपाले असोज २ गते हुने चुनावमा सहभागिता जनाउने प्रतिबद्धता जनाउँदै चुनावचिह्न छाता दिनुपर्नेमा जोड दिएको छ ।  निर्वाचन आयोगसँग समन्वय गर्दै आवश्यक कानुनी प्रक्रिया मिलाएर छाता चुनाव चिह्नका लागि  पहल गरिदिने सत्तारुढ दलले आश्वासन दिएको  जनाइएको छ  ।