राजनीति

काठमाडौंका मेयर बेल्चा बोकेर सडकमा

काठमाडौं, २७ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शुक्रबार बिहानै त्रिभुवन विमानस्थलको गोल्डेन गेटअगाडि हातमा बेल्चा बोकेर सडक सफा गर्दै देखिए । साथमा थिए उपमेयर हरिप्रभा खड्गी, कामनपाका प्रमुख ईश्वरराज पौडेल पनि । 
महानगरले आयोजना गरेको क्लिन द सिटी सरसफाइ अभियान उद्घाटन गर्न मेयर, उपमेयर तथा महानगरका कर्मचारीहरु विमानस्थल आइपुगेका हुन् । एकीकृत फौज परिचालन मोडल नाम दिइएको अभियानमा करिब ५ सय सहभागी भएको आयोजकले जनाएको छ । 
हातमा बेल्चा लिएर सफाइमा जुटेका मेयर शाक्यले सरसफाइको विधि परिवर्तन गर्दै जानुपर्नेमा जोड दिए । “अब सडक सफा गर्ने होइन, घरबाट सडकसम्म फोहोर नै आउन नदिने वातावरण तयार गर्नुपर्छ,” शाक्यले भने ।