काठमाडौं, २७ साउन । एएफसी एसियन कपको छनोट चरणको तयारीमा रहेका नेपाली फुटबल खेलाडी थप तयारीका लागि शुक्रबार जापान जाँदैछन् । जापान जाने नेपाली टोलीलाई नेपालका लागि जापानी राजदुत मासासी ओगावा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले बिहिबार एक कार्यक्रमका बीच विदाई गरे ।
विदाई कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत मासासी ओगावाले जाइकाको विभिन्न कार्यक्रम अन्र्तगत नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा अभ्यास खेल र अभ्यासको लागि अवसर पाएको बताए । राजदुत मासासीले खेलमा हार जित स्वभाविक भएको बताउदै जापानको विभिन्न टोलीलाई जितेर आउन शुभकामना दिए । यस्तै राजदुत मासासीले जापानमा १० दिन सम्म सिकेको ज्ञानलाई एएफसी एसियन कप छनोट अन्र्तगत ताजिकिस्तानविरुद्ध उत्कृष्ट खेल खेल्दै जित्न शुभकामना व्यक्त गरे ।
राखेपका सदस्य–सचिव केशव कुमार विष्टले नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले विगत १७ महिनादेखि नेपाली राष्ट्रिय फुटबल टिमलाई निखार्दै आएको बताउदै जापान भ्रमणलाई थप फलदायी बनाउन आग्रह गरे ।
सदस्य–सचिव विष्टले जापानको अभ्यास र प्रशिक्षणले खेलाडीहरुमा मनोवल, क्षमता र अनुभवमा निखारता अझै आओस भन्ने शुभकामना व्यक्त गरे । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सन् २०१६ नेपाली फुटबलमा स्वर्णिम वर्ष रहेको स्मरण गर्दै नेपालको एएफसी एसियन कपको दोस्रो चरणको यात्रा अझै बाँकी रहेको बताए । अध्यक्ष श्रेष्ठले जापानको १० दिने अभ्यास र प्रशिक्षणले ताजिकिस्तानविरुद्धको खेलमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय टिमका कप्तान अनिल गुरुङले जापानको मैत्रीपूर्ण खेल र अभ्यासले टिमलाई फाइदा पुग्ने विश्वास लिए । उनले कुनैपनि प्रतियोगिता हुनुभन्दा अघि यस्तै मैत्रीपूर्ण खेल र अभ्यास गर्ने मौका पाए टिमले राम्रो नजिता दिन सक्ने समेत बताए । ‘अघिल्लो मैत्रीपूर्ण खेलमा नेपाल दक्षिण एसियाली स्तरका राष्ट्र र अरेबियन मुलुकका केही देशहरुसँग खेल्ने मौका पाएको थियो । अहिले जापानजस्तो राष्ट्रमा प्रशिक्षण र क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने मौका पाएका छौं ।’
नेपालले साउन २९ देखि भदौ ३ गते सम्म विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू–२३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।
भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह ‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा छ भने ४ अंकसहति यमन दोस्रो स्थानमा छ ।
Comments