काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारले पार्टी फुटाउन भूमिका खेलेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको छ । राप्रपा केन्द्रिय कार्य समितिको बैठकले पार्टीलाई विभाजित गर्ने काममा भूमिका खेलेको लगायतका आरोप लगाउँदै काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट फिर्ता हुने औपचारिक निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी फुटाउन सरकार नै लागको भन्दै सरकारबाट बाहिरिने निर्णय लिनु परेको जानकारी दिनुभयो । बैठकले पार्टीको विभाजनबाट नआत्तिन पनि पार्टी नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।
पार्टी भित्रका केही स्वार्थी, सत्ताभोगी, आत्मसमर्पणवादी मानसिकता भएकाहरुले राष्ट्रियतालाई कमजोर पार्न र नेपाललाई हिन्दु राष्ट्र बन्न नदिन पार्टीमा विभाजन ल्याएको आरोप लगाउँदै त्यसबाट विचलित नहुन पार्टी नेता कार्यकर्तालाई बैठकले आह्वान गरेको हो । हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र जस्ता पार्टीको मूल मर्मप्रति प्रतिवद्ध रहेर अघि बढन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
पार्टीले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अरवौको भ्रष्टाचार भएको आरोप लगाउँदै तत्काल छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेको छ । बैठक बुधबार पनि बस्ने र प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको तयारीलाई मूल एजेन्डा बनाएर छलफल हुने पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिनु भयो ।
Comments